सानिमा माई हाइड्रोपावर लिमिटेड द्वारा सञ्चालित दुईवटा जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु भएको छ। कम्पनीअन्तर्गतका माई जलविद्युत केन्द्र (२२ मेगावाट) र माई क्यास्केड जलविद्युत केन्द्र (७ मेगावाट) बाट फागुन १० गतेदेखि पुनः विद्युत उत्पादन सुरु गरिएको हो।

गत असोज १८ गते आएको अविरल वर्षापछि माई खोलामा आएको बाढी र पहिरोका कारण यी दुवै आयोजना अस्थायी रूपमा बन्द भएका थिए। बाढीका कारण जलविद्युत केन्द्रका हेडवर्क्स क्षेत्रका विभिन्न संरचनामा क्षति पुगेको थियो। कम्पनीका अनुसार क्षतिग्रस्त संरचनामध्ये हेडरेस कल्भर्ट र फ्लसिङ चेम्बरको मर्मत तथा परीक्षण कार्य सम्पन्न गरिसकिएको छ। आवश्यक प्राविधिक परीक्षणपछि दुवै आयोजना पुनः सञ्चालनमा ल्याइएको र विशेष परिस्थिति पनि अन्त्य भएको कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया