राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनका लागि कुल ४ हजार २११ प्रतिनिधि निर्धारण गरेको छ। प्रतिनिधिहरू सातै प्रदेश, प्रवास, समायोजन तथा मनोनयन प्रक्रियामार्फत चयन भएका हुन्।
पार्टी सचिवालयका सङ्गठन विभाग सचिव Shankar Shrestha का अनुसार ३३ देशमा रहेका प्रवास सम्पर्क विभागबाट १७० जना प्रतिनिधि छनोट भएका छन्। त्यस्तै, पार्टी विधानअनुसार सभापतिबाट १३८ जना मनोनयन गरिएका छन् भने समूहगत रूपमा पार्टीमा प्रवेश गरेका व्यक्तिमध्ये १९२ जनालाई प्रतिनिधिका रूपमा समावेश गरिएको छ।प्रदेशगत रूपमा कोशी प्रदेशबाट ३६४, मधेश प्रदेशबाट ६३०, बागमती प्रदेशबाट ७९४, लुम्बिनी प्रदेशबाट ६२१, गण्डकी प्रदेशबाट ४५४, कर्णाली प्रदेशबाट ३४३ तथा सुदूरपश्चिम प्रदेशबाट ५०५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्।महाधिवेशन प्रतिनिधित्वको संरचनाअनुसार पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँच जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ। साथै, प्रदेश समितिका सबै सदस्य, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग तथा सल्लाहकार परिषद्का पदाधिकारीहरू पनि प्रतिनिधिका रूपमा सहभागी हुनेछन्।यसका अतिरिक्त सङ्घीय नेतृत्व मञ्चका सबै केन्द्रीय सदस्य, केन्द्रमा रहेका ३८ विभागबाट ११–११ जनाका दरले सदस्य तथा केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट पनि ११–११ जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।स्थानीय तहबाट प्रतिनिधित्वको व्यवस्था अनुसार प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि चयन भएका छन्। प्रदेश सम्पर्क विभागबाट तीन–तीन जना र जिल्ला सम्पर्क विभागबाट एक–एक जना प्रतिनिधि रहने व्यवस्था पनि गरिएको छ।त्यसैगरी, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका तर्फबाट उम्मेदवार बनेर पराजित भएका व्यक्ति, समानुपातिक सूचीमा रहेका सदस्य तथा पार्टीमा सक्रिय भूमिकामा रहेका व्यक्तिहरूलाई पनि महाधिवेशन प्रतिनिधिमा समावेश गरिएको छ। केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्यहरू समेत महाधिवेशन प्रतिनिधि बनेका छन्।
रास्वपाको यो प्रथम राष्ट्रिय महाधिवेशनलाई पार्टीको भावी नेतृत्व चयन, संगठन सुदृढीकरण तथा नीतिगत दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

Online Arthik










