सानिगाड हाइड्रो लिमिटेड ले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएकोमा हाल २८ लाख ५० हजार कित्ता आयोजना प्रभावितका लागि र ५ लाख ७० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ । आयोजना प्रभाविततर्फ १८ लाख ५२ हजार ५०० कित्ता बझाङको बुंगल नगरपालिका वडा नम्बर १, २ र ४ का अति प्रभावित क्षेत्रका बासिन्दाका लागि तथा ९ लाख ९७ हजार ५०० कित्ता वडा नम्बर ३, ५, ६, ७, ८, ९, १० र ११ का प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ । यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित स्थानीयले चैत २२ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीले चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रभावित क्षेत्रका बासिन्दाले बुंगल नगरपालिकास्थित कम्पनीको पावर हाउस, लक्ष्मी सनराइज बैंक को चैनपुर शाखा, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक का बझाङस्थित शाखाबाट आवेदन फाराम प्राप्त तथा बुझाउन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

Online Arthik










