नागढुङ्गा सुरुङमार्ग क्षेत्रमा सवारी व्यवस्थापनलाई सहज बनाउन आरएफआईडी प्रणाली लागू गर्ने तयारी गरिएको छ। यस प्रणालीअन्तर्गत सवारीधनीले बैंकमार्फत चिप प्राप्त गर्न सवारी दर्ता प्रमाणपत्र, फोटो तथा अद्यावधिक गरिएको केवाईसी कागजात अनिवार्य रूपमा बुझाउनुपर्नेछ। भारतमा यो प्रणाली लागू भएपछि टोल सङ्कलन प्रक्रिया सहज हुनुका साथै राजस्व सङ्कलनमा वृद्धि भएको अनुभवका आधारमा नेपालमा पनि राजस्व चुहावट नियन्त्रण र सडक मर्मतका लागि पर्याप्त कोष संकलन हुने अपेक्षा गरिएको छ।
सुरुवाती चरणमा सबै सवारीसाधनमा चिप जडान नभइसकेकाले केही समय ट्राफिक जामको समस्या देखिन सक्ने अनुमान गरिएको छ। त्यसैले करिब ६ महिनासम्म नगद तथा स्क्यानिङजस्ता वैकल्पिक प्रणालीसमेत सञ्चालन गर्ने योजना बनाइएको छ। यो प्रणालीले नागढुङ्गा क्षेत्रमा हुने सवारी जाम न्यूनीकरण गर्नुका साथै यात्राको समय बचत, इन्धन खपतमा कमी र यात्रालाई थप सहज बनाउने विश्वास गरिएको छ।
नागढुङ्गाबाट उठ्ने दस्तुर सिधै सडक बोर्डको खातामा जम्मा हुने र सोही रकमबाट सडक मर्मतसम्भार गरिनेछ। सुरुङमार्ग सञ्चालनको जिम्मा चिनियाँ कम्पनीले पाउने तयारी रहेको छ भने आयोजना छिट्टै औपचारिक घोषणा गर्ने चरणमा रहेको बताइएको छ। साथै, विश्व बैंक र एसियाली विकास बैंकसँगको सहकार्यमा सडक बोर्डलाई आत्मनिर्भर बनाउने गरी क्षमता अभिवृद्धि कार्यक्रम पनि अघि बढाइने योजना रहेको छ।

Online Arthik










