नेपाल टेलिकमले निकट भविष्यमा थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजीमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यसअनुसार थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकहरूलाई भ्वाइस कल तथा एसएमएसमार्फत सिम परिवर्तनबारे जानकारी दिइएको छ।

सम्बन्धित ग्राहकहरूले आफ्नो पुरानो सिमलाई निःशुल्क रूपमा फोरजी सिममा रूपान्तरण गर्न सक्नेछन्। यसका लागि नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।फोरजी सिम लिनका लागि ग्राहकले नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र लगायतका आधिकारिक परिचयपत्र प्रस्तुत गर्नुपर्नेछ।कम्पनीका अनुसार थ्रीजीको तुलनामा फोरजी प्रविधिले मोबाइल इन्टरनेटको गति र सेवाको गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने भएकाले ग्राहकहरूलाई लाभ पुग्नेछ।

साथै, आफ्नो सिम फोरजी हो वा होइन भन्ने जानकारी लिन *444# डायल गर्न सकिन्छ। यसबाट फोरजी सेवा सक्रिय गर्नुका साथै उच्च गुणस्तरको भोल्ट सेवा समेत सजिलै सक्रिय गर्न सकिने जनाइएको छ।

तपाईको प्रतिक्रिया