सानिगाड हाइड्रो लिमिटेड ले जेठ १४ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४६ लाख ७४ हजार कित्ता साधारण शेयर (आईपीओ) बिक्रीमा ल्याउन लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्ड बाट प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति प्राप्त गरेको थियो । यसअन्तर्गत पहिलो चरणमा गत चैत ८ गतेदेखि २८ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा ५ लाख ७० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको थियो ।स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर बाँडफाँड गरिसकेपछि कम्पनीले अब दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।कम्पनीलाई रेटिङ कम्पनी इक्रा नेपाल ले ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।आईपीओ निष्कासन छिटोमा जेठ २० गते र ढिलोमा जेठ २८ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर बाट पनि अनलाइन आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेड ले सम्हालेको छ ।

तपाईको प्रतिक्रिया