यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। पर्यटन विभाग का अनुसार सन् २०२६ को वसन्त ऋतुमा ७९ देशका एक हजार १८१ आरोहीले हिमाल आरोहणका लागि अनुमति लिएका छन्।
विभागका सूचना अधिकारी हिमाल गौतमका अनुसार सबैभन्दा धेरै अनुमति विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि दिइएको छ। हालसम्म सगरमाथाका लागि ५५ देशका ४९४ आरोहीले अनुमति लिएका छन्। तीमध्ये चीनका १०९, अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रसियाका १८, अष्ट्रेलियाका १५, जापानका १४, नेपालका १२ र ब्राजिलका १० जना रहेका छन्।
यसका साथै ल्होत्से, आमादब्लम, नुप्त्से, हिम्लुङ, कञ्चनजङ्घा, धवलागिरि लगायतका हिमालका लागि पनि सयौं आरोहीले अनुमति लिएका छन्। विभागले ६ हजार ५०० मिटरभन्दा माथिका हिमाल आरोहणका लागि अनुमति दिने गर्छ भने ५ हजार ८०० देखि ६ हजार ५०० मिटरसम्मका हिमालका लागि नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले अनुमति दिने व्यवस्था छ। यस वर्ष हिमाल आरोहण अनुमति शुल्कबाट मात्रै एक अर्ब २५ करोड ८४ लाख ६० हजार ५५४ रुपैयाँ राजस्व सङ्कलन भएको छ। जसमध्ये सगरमाथाबाट मात्रै एक अर्ब ७ करोड ८६ लाख ९१ हजार ४७५ रुपैयाँ राजस्व प्राप्त भएको विभागले जनाएको छ।
सगरमाथा आरोहण यही वैशाख ३१ गतेदेखि सुरु भएको छ भने बाटो निर्माण र डोरी टाँग्ने काम पूरा भइसकेको छ। पछिल्लो समय विश्वभरबाट नेपालका हिमालहरूमा आरोहण गर्ने विदेशीको आकर्षण निरन्तर बढिरहेको देखिएको छ।

Online Arthik










