सिटिजन्स लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले एनएफआरएस १७ कार्यान्वयनका लागि KPMG आश्वासन र परामर्श सेवा LLP लाई परामर्शदाता नियुक्त गरेको छ । नेपाल लेखामान बोर्डद्वारा जारी तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान मार्फत लागू गरिएको उक्त मापदण्डलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कम्पनीले यो रणनीतिक पहल गरेको जनाएको छ ।नेपाल बिमा प्राधिकरण को स्वीकृतिपछि कम्पनीले केपीएमजीलाई कार्यान्वयन परामर्शदाताका रूपमा नियुक्त गरेको हो ।KPMG विश्वका ‘बिग फोर’ व्यावसायिक सेवा प्रदायक संस्थामध्ये एक हो । यसले एसुरेन्स, कन्सल्टिङ, कर, जोखिम व्यवस्थापन लगायतका क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ । जटिल वित्तीय प्रतिवेदन मापदण्ड, विशेषगरी आईएफआरएस १७/एनएफआरएस १७ कार्यान्वयनमा यसको अन्तर्राष्ट्रिय अनुभव महत्वपूर्ण मानिन्छ ।कम्पनीका अनुसार यस नियुक्तिसँगै सिटिजन लाइफले अन्तर्राष्ट्रिय स्तरको प्राविधिक विशेषज्ञता प्राप्त गर्नेछ भने ज्ञान हस्तान्तरणमार्फत आन्तरिक क्षमता अभिवृद्धि गर्ने अवसर समेत मिल्नेछ । सम्झौता अवधि साढे तीन वर्ष रहनेछ । यसअन्तर्गत प्रारम्भिक कार्यान्वयनका साथै त्यसपछिका तीन वर्षसम्म पोस्ट–इम्प्लिमेन्टेसन सपोर्टसमेत समावेश गरिएको छ ।
कम्पनीले यस पहलले संस्थालाई अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्डअनुसार थप पारदर्शी, सुदृढ र विश्वसनीय बनाउने विश्वास व्यक्त गरेको छ ।

Online Arthik










