उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा ७ अर्ब ६६ करोड ८५ लाख रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको छ। नेपाल–चीन जोड्ने उत्तरी कोरला नाकाबाट भएको आयात–निर्यात कारोबारका कारण राजश्व सङ्कलनमा उल्लेखनीय वृद्धि भएको हो।

भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार साउनदेखि जेठ मसान्तसम्म कोरला नाकामार्फत १३ अर्ब ८९ करोड ५२ लाख रुपैयाँ बराबरका वस्तु नेपालमा आयात भएका छन्। सोही अवधिमा २० करोड ५५ लाख ७४ हजार रुपैयाँ मूल्य बराबरका नेपाली वस्तु चीनतर्फ निर्यात भएका छन्। गत वर्षदेखि वैकल्पिक व्यापारिक नाकाका रूपमा सञ्चालनमा आएको कोरला नाका ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको थियो। नाका सञ्चालन विस्तारसँगै व्यापारिक गतिविधि तीव्र बनेको र त्यसको प्रत्यक्ष प्रभाव राजश्व सङ्कलनमा देखिएको भन्सार कार्यालयले जनाएको छ।विशेषगरी विद्युतीय सवारीसाधन (इभी) आयातले राजश्व वृद्धिमा ठूलो योगदान दिएको छ। कार्यालयका अनुसार जेठ मसान्तसम्म कोरला नाकाबाट दुई हजार ९९७ वटा इभी नेपाल भित्रिएका छन्। ती सवारीसाधनबाट मात्रै करिब ७ अर्ब रुपैयाँ राजश्व सङ्कलन भएको भन्सार प्रमुख चुडालले जानकारी दिए।

महिनागत रूपमा हेर्दा चालु आर्थिक वर्षको साउनमा सबैभन्दा कम ७ लाख ५७ हजार रुपैयाँ राजश्व उठेको थियो भने असोज महिनामा सबैभन्दा बढी २ अर्ब ४९ करोड २५ लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ।कोरला नाकाबाट हाल विद्युतीय सवारीसाधन, चाडपर्व लक्षित लत्ताकपडा, इलेक्ट्रोनिक सामग्री, जुत्ताचप्पल, किराना तथा कस्मेटिक सामग्री नेपाल भित्रिने गरेका छन्। त्यस्तै नेपालबाट हस्तकलाका सामग्री तथा स्थानीय उत्पादनहरू चीनतर्फ निर्यात हुने गरेका छन्।

व्यापारिक गतिविधि विस्तार र उत्तरी नाकाको प्रभावकारी सञ्चालनसँगै कोरला नाका नेपाल–चीन व्यापारको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको देखिन्छ। यसले मुस्ताङ क्षेत्रको आर्थिक गतिविधि मात्र नभई राष्ट्रिय राजश्वमा समेत उल्लेखनीय योगदान पुर्‍याइरहेको छ।

तपाईको प्रतिक्रिया