नेपाल राष्ट्र बैंकले बजारको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज ४५ अर्ब रुपैयाँ बराबरको एक वर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ख’ जारी गर्ने भएको छ।
केन्द्रीय बैंकका अनुसार ऋणपत्रको बोलकबोल आज दिउँसो ३ बजे अनलाइन माध्यमबाट हुनेछ। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन्।ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १७ गते हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ। ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ। बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।बोलकबोलपछि सानोदेखि ठूलो ब्याजदरका आधारमा आह्वान गरिएको रकम वा समितिले निर्धारण गरेको रकमसम्म बाँडफाँड गरिनेछ। त्यसपछि कायम हुने एकल ब्याजदरमा सो दर वा सोभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई ऋणपत्र बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ।
यसअघि पनि केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो।

Online Arthik










