प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ । बैठकमा सरकारले सार्वजनिक खरिद, सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण र सहकारीसम्बन्धी तीन महत्वपूर्ण संशोधन विधेयक पारित गराउने तयारी गरेको छ ।

बैठकको प्रारम्भमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराउने कार्यसूची रहेको छ ।त्यसपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रधानमन्त्रीका तर्फबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सम्पन्न भएको प्रस्ताव पेश गर्नेछिन् । दर्ता भएका संशोधनहरू निर्णयार्थ प्रस्तुत गर्दै उक्त विधेयक पारित गर्ने कार्यसूची छ ।यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सम्पन्न भएको प्रस्ताव पेश गर्नेछन् । संशोधनमाथि निर्णय गरेपछि विधेयक पारित गर्ने प्रक्रिया अघि बढाइनेछ । त्यसैगरी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सम्पन्न भएको प्रस्ताव पेश गर्नेछिन् । संशोधन टुंग्याएपछि उक्त विधेयक पनि आजै प्रतिनिधि सभाबाट पारित गर्ने कार्यसूची रहेको छ ।

आजको बैठकमार्फत सार्वजनिक खरिद प्रणाली, सम्पत्ति शुद्धिकरण नियन्त्रण तथा सहकारी क्षेत्रसँग सम्बन्धित कानुनी व्यवस्थामा महत्वपूर्ण संशोधनलाई अन्तिम रूप दिने सरकारको तयारी रहेको छ।

तपाईको प्रतिक्रिया