सरकारले बर्दिया जिल्लाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण अभियान सुरु गरेको छ । पहिलो चरणमा बर्दियाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेसँगै कानुनी रूपमा जग्गाधनी बनेका छन् । अब उनीहरूले बैंकिङ सेवा, ऋण सुविधा तथा अन्य सरकारी सेवामा समेत सहज पहुँच पाउनेछन् ।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने उद्देश्यले लालपुर्जा वितरण अभियानलाई थप प्रभावकारी बनाइनेछ ।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन् । उनले बर्दियाबाट सुरु भएको लालपुर्जा वितरण अभियानलाई क्रमशः देशभर विस्तार गर्दै वास्तविक भूमिहीन नागरिकलाई जग्गाको कानुनी स्वामित्व दिलाइने जानकारी दिइन्।

Online Arthik










