भारतबाट भन्सार छलेर अवैध रूपमा इलेक्ट्रिक स्कुटर नेपाल भित्र्याउने क्रम बढ्न थालेपछि कञ्चनपुरमा सुरक्षा निकायले निगरानी र नियन्त्रणलाई कडा बनाएको छ। खुला सीमा नाकाको दुरुपयोग गरी भित्र्याइएका तथा दर्ताविना सञ्चालनमा रहेका स्कुटरमाथि प्रहरीले निगरानी बढाएको हो।
पछिल्लो एक महिनामा मात्रै भारतबाट भन्सार छली गरी नेपाल ल्याइएका १२ वटा नयाँ इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले ती स्कुटर आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालयमा बुझाएका छन्। खुला सीमा नाका रहेका विभिन्न क्षेत्रबाट अवैध रूपमा भित्र्याइएका स्कुटर नियन्त्रणमा लिने अभियानलाई निरन्तरता दिइएको सुरक्षा निकायले जनाएको छ। भन्सार छली गरी सवारीसाधन आयात गर्नु प्रचलित कानूनविपरीत भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा विशेष निगरानी गरिएको बताइएको छ। भन्सार कार्यालयका अनुसार नियन्त्रणमा लिइएका स्कुटर कानूनी प्रक्रिया पूरा गरी लिलाम गरिनेछ। साथै, नयाँ इलेक्ट्रिक स्कुटर अवैध रूपमा भित्रिन नदिन प्रहरी प्रशासनसँगको समन्वयमा सीमा क्षेत्रमा थप निगरानी बढाइएको छ।
दर्ताविनाका इलेक्ट्रिक स्कुटरको व्यवस्थापन र नियन्त्रणका विषयमा प्रशासनिक तहमा समेत छलफल भइरहेको जनाइएको छ। पछिल्लो १० वर्षमा कञ्चनपुरमा करिब पाँच हजार इलेक्ट्रिक स्कुटर आयात भएको तथ्यांक रहेको छ।

Online Arthik










