बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम जारी छ, जसको प्रभाव वाणिज्य बैंकहरूले भदौका लागि सार्वजनिक गरेको निक्षेपको ब्याजदरमा समेत देखिएको छ। २० वाणिज्य बैंकमध्ये पाँच बैंकले साउनको तुलनामा ब्याजदर घटाएका छन् भने १५ बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्। भदौमा व्यक्तिगत निक्षेपतर्फ बैंकहरूले दिने औसत अधिकतम ब्याजदर ४.१३६ प्रतिशतमा सीमित भएको छ, जुन साउनको ४.१६७५ प्रतिशतको तुलनामा ०.०३१५ प्रतिशतविन्दुले कम हो। संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर पनि साउनको ३.११६ प्रतिशतबाट घटेर भदौमा ३.०८१ प्रतिशतमा झरेको छ। ब्याजदर घटाउने पाँच बैंकमध्ये सिद्धार्थ बैंकले व्यक्तिगत निक्षेपमा सबैभन्दा ठूलो ०.२९ प्रतिशतविन्दुको कटौती गर्दै ३.७६ प्रतिशत कायम गरेको छ भने संस्थागत निक्षेपको दर ०.२० प्रतिशतविन्दुले घटाएर ३.०५ प्रतिशतमा झारेको छ। नेपाल बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.१० प्रतिशतविन्दुले घटाएर ४.१५ प्रतिशत तथा संस्थागत निक्षेपको दर ०.५० प्रतिशतविन्दुले घटाएर ३.५० प्रतिशत कायम गरेको छ। त्यस्तै, सिटिजन्स बैंकले व्यक्तिगत निक्षेपमा ३.८५ प्रतिशत ब्याजदर कायम गरेको छ भने कुमारी बैंकले ३.७६ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.८० प्रतिशत दर कायम गरेका छन्। अर्कोतर्फ, नबिल बैंक र प्रभु बैंकले व्यक्तिगत निक्षेपमा अधिकतम ४.५५ प्रतिशत ब्याजदर कायम गरेका छन् भने नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबी, सानिमा, माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य र ग्लोबल आइएमईलगायत १५ बैंकले साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन्। बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जाको माग सोही अनुपातमा बढ्न नसक्दा बैंकहरूले निक्षेपका लागि बढी ब्याज तिर्नुभन्दा स्रोतको लागत घटाउने रणनीति अपनाएका हुन्। तरलता सहज रहने अवस्था कायम रहे आगामी महिनामा पनि निक्षेपको ब्याजदरमा ठूलो वृद्धि हुने सम्भावना कमजोर देखिन्छ, जसले निक्षेपकर्ताको प्रतिफलमा दबाब सिर्जना गरे पनि बैंकहरूको स्रोत लागत घटाएर कर्जाको ब्याजदरलाई थप प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने देखिन्छ।

तपाईको प्रतिक्रिया