पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालबाट अपहरणमा परेको नवजात शिशुलाई प्रहरीले करिब १६ घण्टापछि सकुशल उद्धार गरेको छ। घटनामा संलग्न आरोपमा वीरगञ्ज महानगरपालिका–१६ की २७ वर्षीया सबिना खातुनलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार भदौ १४ गते अपराह्न करिब ४ बजे सुत्केरी कुरुवा कोठाबाट ‘खेलाउँछु’ भन्दै शिशुलाई लिएर गएकी महिलाले आफ्नो घर पुर्याएकी थिइन्। शिशु हराएको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साले खोजी अभियान थालेको थियो। प्रहरीले सम्भावित सीमा नाकामा निगरानी बढाउनुका साथै अस्पतालभित्र तथा बाहिरका सीसीटीभी फुटेज अध्ययन गरेको थियो। लगातारको खोजी तथा अनुसन्धानपछि खातुनको कोठाबाट शिशुलाई सकुशल उद्धार गरिएको हो।
उद्धारपछि नवजात शिशुलाई सर्लाहीकी २७ वर्षीया आमाको जिम्मा लगाइएको छ। प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकी महिलाले शिशुलाई आफ्नै बनाएर राख्ने उद्देश्यले अस्पतालबाट लगेको देखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Online Arthik










