रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ४ सय ३६ पुगेको छ। नेपाल प्रहरीका अनुसार आइतबार बिहान ११ बजेसम्म विभिन्न जिल्लाबाट उक्त संख्यामा शव फेला परेका हुन्।

प्रहरीका अनुसार रसुवामा २ सय २३, नुवाकोटमा २ सय ३, धादिङमा ७२, चितवनमा ३ सय ६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासी पश्चिममा २ सय २२ जनाको शव भेटिएको छ। काठमाडौंमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनसहित आवश्यक प्रक्रिया अघि बढाइएको छ। हालसम्म १ हजार २ सय ९२ शव व्यवस्थापन गरिएको छ।शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय ९७ गरी कुल ३ हजार २ सय ८३ वटा डीएनए नमुना संकलन गरिएको छ। पहिचान हुन नसकेका १ हजार ३ सय ६२ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ।बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९ सय ७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ।बाढीपछि बेपत्ता भएका ४ हजार ६ सय ५५ जनाको खोजी अझै जारी छ। विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा १ हजार ३ सय ७२ जना राखिएका छन्।

प्रहरीले प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिँदै बेपत्ता व्यक्तिको खोजी र शव पहिचानको काम एकसाथ अघि बढाइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया