नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्राविधिक समस्या देखिएपछि २०८३ असोज ५ गते सोमबारका लागि तय गरिएको सेयर कारोबार स्थगित गरेको छ।

नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डाटा हब प्रालिको डाटा सेन्टरमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या उत्पन्न भएको थियो। समस्या समाधानका लागि प्राविधिक टोलीले काम गरिरहेको भए पनि पूर्ण रूपमा समाधान हुन नसकेपछि कारोबार सञ्चालन नगर्ने निर्णय गरिएको हो। डाटा सेन्टरको समस्या कायमै रहेको अवस्थामा कारोबार सुरु गर्दा नेप्सेको मुख्य कारोबार प्रणालीमा समेत असर पर्न सक्ने सम्भावना रहेकाले नियमित कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ।प्राविधिक समस्या समाधान नभएसम्म कारोबार रोक्न स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत नेप्सेसँग आग्रह गरेको थियो। सोही अनुरोधलाई समेत आधार बनाउँदै नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१(१०) बमोजिम सोमबारको सम्पूर्ण नियमित कारोबार स्थगित गरेको हो।

कारोबार स्थगित भएपछि लगानीकर्ता तथा बजारसँग सम्बन्धित सबै पक्षमा परेको असुविधाप्रति नेप्सेले क्षमायाचना गरेको छ।

तपाईको प्रतिक्रिया