नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान तथा चेयरपर्सन क्लब सदस्यता वितरण गर्ने उद्देश्यले आयोजना गरेको वार्षिक चेयरपर्सन क्लब कार्यक्रम भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न भएको छ।
आर्थिक वर्ष २०८२/८३ का लागि निर्धारित लक्ष्य पूरा गरी चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्तासहित कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारी गरी ५६५ जनाको सहभागितामा कार्यक्रम दुई रात तीन दिनसम्म सञ्चालन भएको थियो।भोटेकोशीमा आएको भीषण बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै कार्यक्रम एक मिनेट मौनधारणबाट सुरु गरिएको थियो।कार्यक्रमको औपचारिक उद्घाटन कम्पनीकी चेयरपर्सन प्रेमाराज्य लक्ष्मी सिंहले दीप प्रज्वलन गरी गरेकी थिइन्। उनले कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरूको सीप, क्षमता तथा व्यावसायिकता अभिवृद्धिका लागि कम्पनीले निरन्तर सहयोग र सहकार्य गर्ने बताइन्। अभिकर्ता सञ्जालमा नेतृत्व विकासलाई प्राथमिकता दिँदै यस क्षेत्रमा आवश्यक लगानी गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले हासिल गरेको व्यवसायिक उपलब्धि सम्पूर्ण नेशनल लाइफ परिवारको सामूहिक सफलता भएको बताए। नयाँ आर्थिक वर्षमा स्पष्ट लक्ष्य, मापनयोग्य रणनीति र उच्च व्यावसायिक प्रतिबद्धताका साथ अघि बढ्दै अभिकर्ता सञ्जाललाई थप सुदृढ बनाउने तथा ग्राहक सेवाको गुणस्तर सुधारमा कम्पनी केन्द्रित रहेको उनको भनाइ थियो।
कार्यक्रममा चेयरपर्सन क्लब सदस्यता वितरण गर्नुका साथै नेपालभर आफ्नो कोड तथा सञ्जाल व्यवसायमा प्रथम, द्वितीय र तृतीय हुने अभिकर्ता, समूहगत व्यवसायमा उत्कृष्ट हुने अभिकर्ता तथा सेन्चुरियन क्लब, नेशनल स्टार, नेशनल सुपरस्टार र लगातार १० वर्षसम्म चेयरपर्सन क्लबमा छनोट हुन सफल अभिकर्तालाई विशेष सम्मान गरिएको थियो।त्यसैगरी सहभागी अभिकर्ताहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धिका लागि विभिन्न विषयमा प्रशिक्षणसमेत प्रदान गरिएको थियो। नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदम प्रसाद साडारीले सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रशिक्षण दिँदै बीमालाई माध्यम बनाएर हुन सक्ने सम्पत्ति शुद्धीकरणका गतिविधिप्रति सचेत रहनुपर्ने बताए। उनले शंकास्पद गतिविधिको निगरानी, आवश्यक पहिचान तथा प्रचलित कानुनी व्यवस्थाको पूर्ण पालना गर्न बीमा व्यवसायमा संलग्न सबै पक्ष सजग हुनुपर्नेमा जोड दिए। प्रशिक्षक विश्वराज पौडेलले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिलाई बीमा व्यवसायसँग जोड्न सकिने विभिन्न प्रयोगात्मक उदाहरण प्रस्तुत गर्दै ग्राहक सम्पर्क, सामग्री निर्माण, व्यवसायिक योजना तथा सूचना व्यवस्थापनलगायत क्षेत्रमा एआईको प्रयोगबारे प्रशिक्षण दिएका थिए।त्यस्तै, प्रशिक्षक संजोग कोइरालाले डिजिटल माध्यमको प्रभावकारी प्रयोगबाट बीमा व्यवसाय विस्तारमा सहयोग पुग्ने बताए। डिजिटल प्लेटफर्म प्रयोग गर्दा कानुन तथा नियामकीय व्यवस्थाको पालना गर्दै सत्यतथ्य र स्वीकृत सामग्री मात्र सार्वजनिक गर्नुपर्नेमा उनले जोड दिए।
चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्ताहरूले वर्षभरको निरन्तर मेहनत, अनुशासन र उत्कृष्ट व्यवसायिक प्रदर्शनपछि प्राप्त सम्मानले आफ्नो परिश्रमलाई थप सार्थक बनाएको बताएका थिए।

Online Arthik










