भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम बढ्न नदिन सरकारले स्वास्थ्य निगरानी, मानसिक स्वास्थ्य परामर्श र हैजाविरुद्धको खोप अभियान तीव्र बनाएको छ। नुवाकोट, रसुवा, काठमाडौं र धादिङका २९ वटा होल्डिङ सेन्टर तथा सेल्टरमा स्वास्थ्य तथा मनोसामाजिक सेवा सञ्चालन भइरहेको छ।

स्वास्थ्य सेवा विभागका अनुसार पछिल्लो २४ घण्टामा पाँच स्वास्थ्यसम्बन्धी केस रिपोर्ट भएका छन्। तीमध्ये चार जनामा खोकीसहितको ज्वरो र एक जनामा तीव्र झाडापखाला देखिएको छ। यस्तै, पछिल्लो २४ घण्टामा २४६ जनाले स्थलगत मानसिक स्वास्थ्य परामर्श लिएका छन्।

यसैबीच, बाढी प्रभावित रसुवा र नुवाकोटमा ६८ हजार २२ जनाले हैजाविरुद्धको खोप लगाइसकेका छन्। रसुवामा १६ हजार ७५६ र नुवाकोटमा ५१ हजार २६६ जनाले खोप लगाएका हुन्। सम्भावित महामारी रोकथामका लागि दादुरा–रुबेला खोप अभियानको तयारीसमेत भइरहेको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया