नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढेको तरलता व्यवस्थापन गर्न बुधबार बजारबाट थप २० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ। राष्ट्र बैंकले ३० दिनका लागि निक्षेप संकलन गर्न लागेको हो।

यसअघि असोज १२ गते पनि राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ खिचेको थियो। नयाँ निक्षेप संकलनको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज कात्तिक १३ गते भुक्तानी गरिनेछ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत आवेदन दिन सक्नेछन्। प्रत्येक संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि कुल आह्वान रकमसम्म, ५ करोडले भाग जाने रकममा बोलकबोल गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया