अपि पावर कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने पुरानो निर्णय फिर्ता लिने भएको छ। कम्पनीले लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित आगामी मंसिर १८ गते २३औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनीको कात्तिक १९ गते बसेको सञ्चालक समिति बैठकले साधारणसभा मंसिर १८ गते शुक्रबार आयोजना गर्ने निर्णय गरेको हो। सभामा आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव अनुमोदनका लागि पेस गरिनेछ। कम्पनीको ६ अर्ब ३७ करोड ९७ लाख २४ हजार १९९ रुपैयाँ चुक्ता पुँजीका आधारमा ३१ करोड ८९ लाख ८६ हजार २०९ रुपैयाँ ९५ पैसा बराबरको बोनस सेयर वितरण गर्न लागिएको हो। बोनस सेयरमा लाग्ने करका लागि १ करोड ६७ लाख ८८ हजार ७४८ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पनि गरिएको छ।यसअघि २२औँ वार्षिक साधारणसभाबाट कम्पनीले ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो। उक्त सेयर बिक्रीबाट संकलित रकम दिव्यज्योति हाइड्रोपावरले निर्माण गरिरहेको ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनामा लगानी गर्ने योजना थियो।तर, हकप्रद निष्कासनका लागि नियामकीय स्वीकृति लिन समय लाग्ने र त्यसले आयोजना निर्माण प्रभावित हुन सक्ने देखिएपछि कम्पनीले उक्त योजना रद्द गर्न लागेको हो। कम्पनीका अनुसार आयोजनाका लागि आवश्यक स्वपुँजी आन्तरिक नगद प्रवाह, बैंक ऋण तथा अन्य स्रोतबाट व्यवस्थापन भइसकेको छ।

साधारणसभामा बोनस सेयर जारीपछि चुक्ता पुँजीमा हुने परिवर्तनअनुसार प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने प्रस्ताव पनि पेस हुनेछ। साथै, आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने र आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सभामा छलफल हुनेछ।

तपाईको प्रतिक्रिया