नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले २० दिन अवधिका लागि निक्षेप संकलन उपकरण जारी गर्न लागेको हो।

यसका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइनमार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन्। निक्षेपको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्थाले बहुब्याजदरमा समेत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम २ खर्ब रुपैयाँसम्म आवेदन दिन सक्नेछन्। प्राप्त आवेदनमध्ये कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकताका आधारमा निक्षेप संकलन उपकरण बाँडफाँट गरिनेछ। समान ब्याजदरमा माग गरिएको रकम उपलब्ध गराउन सकिनेभन्दा बढी भएमा समानुपातिक रूपमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।

यसरी संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज आगामी मंसिर १७ गते भुक्तानी गरिनेछ। उक्त निक्षेपलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया