सरकारले समयमै धान खरिद प्रक्रिया सुरु नगर्दा बर्दियाका किसान न्यूनतम समर्थन मूल्यभन्दा निकै कम मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन् । धान भित्र्याउने मुख्य सिजनमै सरकारी खरिद ढिलाइ भएपछि किसानले स्थानीय व्यापारीलाई प्रतिक्विन्टल २ हजार ८०० देखि २ हजार ९०० रुपैयाँसम्ममा धान बेचिरहेका छन् । जबकि सरकारले चालु आर्थिक वर्षका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ निर्धारण गरेको छ ।

सरकारी समर्थन मूल्यभन्दा किसानले प्रतिक्विन्टल ७६० देखि ८६० रुपैयाँसम्म कम मूल्य पाइरहेका छन् । हिउँदेबाली लगाउन खेत जोत्ने, मल तथा बीउ खरिद गर्ने र घरायसी खर्च जुटाउनुपर्ने बाध्यताका कारण किसानले सरकारी खरिदको प्रतीक्षा गर्न नसकेको बताएका छन् । गुलरिया नगरपालिका–१२ भैसाहीका अगुवा किसान जगमोहन थारूले सरकारी निकायले समयमै धान खरिद नगरेपछि ३०० क्विन्टल धान प्रतिक्विन्टल २ हजार ८०० रुपैयाँका दरले बिक्री गरेका छन् । सरकारले तोकेको समर्थन मूल्यमा बिक्री गर्न पाएको भए उनले उक्त धानबाट १० लाख ९८ हजार रुपैयाँ प्राप्त गर्न सक्थे । तर व्यापारीलाई बिक्री गर्दा ८ लाख ४० हजार रुपैयाँ मात्रै पाएपछि उनलाई २ लाख ५८ हजार रुपैयाँ घाटा भएको छ । बढैयाताल गाउँपालिका–७ का किसान रामदेव थारूले पनि हिउँदेबालीका लागि आवश्यक मल र बीउ खरिद गर्न तत्काल रकम चाहिएकाले सस्तोमै धान बेच्नुपरेको बताएका छन् ।बर्दियामा स्थानीय गल्ला व्यापारीले मोटा धान प्रतिक्विन्टल २ हजार ९०० रुपैयाँ र मसिनो धान करिब ४ हजार रुपैयाँमा खरिद गरिरहेका छन् । बढैयाताल गाउँपालिका–५ का व्यापारी सुरेश थारूले यही मूल्यमा धान खरिद भइरहेको जानकारी दिएका छन् । सरकारी खरिद सुरु नहुँदै किसानले उत्पादन बिक्री गर्न थालेपछि न्यूनतम समर्थन मूल्यको लाभ उनीहरूसम्म पुग्न सकेको छैन ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको राजापुर कार्यालयले यस वर्ष मंसिर ३ गतेदेखि धान खरिद गर्ने तयारी गरेको छ । गत वर्ष कात्तिक १९ गतेदेखि खरिद सुरु गरेको कम्पनीले यसपटक करिब दुई साता ढिलाइ गरेको हो । नेपाल किसान महासंघका अध्यक्ष बीपी भण्डारीका अनुसार सरकारी खरिदमा ढिलाइ भएकै कारण किसानले आधाभन्दा बढी धान सस्तो मूल्यमा बिक्री गरिसकेका छन् । यता कम्पनीका वरिष्ठ सहायक एवं सूचना अधिकारी चेतमान कठायतले तिहार बिदाका कारण खरिद प्रक्रिया ढिलाइ भएको बताएका छन् । उनका अनुसार जिल्लाको प्राथमिक खरिद समितिले मंसिरको पहिलो सातादेखि धान खरिद गर्ने निर्णय गरेको हो ।कम्पनीले यस वर्ष बर्दियाबाट ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ । जिल्लाका आठवटै स्थानीय तहबाट प्रतिपालिका ३ हजार क्विन्टलका दरले २४ हजार क्विन्टल र कम्पनीको आफ्नै परिसरबाट थप ६ हजार क्विन्टल खरिद गर्ने योजना छ । तर जिल्लामा वार्षिक करिब २ लाख २८ हजार ८१ मेट्रिक टन धान उत्पादन हुने गरेकोमा सरकारी खरिद लक्ष्य ३ हजार मेट्रिक टन मात्रै रहेको छ । यसअनुसार कुल वार्षिक उत्पादनको करिब १.३२ प्रतिशत धान मात्रै सरकारले खरिद गर्ने लक्ष्य राखेको देखिन्छ ।

सरकारले यस वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको ३ हजार ८६० रुपैयाँ तोकेको छ । गत वर्ष मोटा धानको मूल्य ३ हजार ४६३ रुपैयाँ र मध्यम धानको ३ हजार ६२८ रुपैयाँ थियो । यस वर्ष समर्थन मूल्य बढाइए पनि समयमै खरिद नहुँदा किसानले त्यसको प्रत्यक्ष लाभ लिन सकेका छैनन् । तत्काल नगद आवश्यक पर्ने किसानले कम मूल्यमा धान बिक्री गर्नुपर्ने र सरकारी खरिद सुरु हुँदासम्म उनीहरूसँग पर्याप्त धान बाँकी नरहने अवस्थाले समर्थन मूल्यको प्रभावकारितामाथि प्रश्न उठाएको छ । किसानले उत्पादनको उचित मूल्य पाउन खरिद प्रक्रिया समयमै सुरु गर्नुका साथै सरकारी खरिदको परिमाण र पहुँच विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ ।

तपाईको प्रतिक्रिया