भारतको अयोध्याबाट सोमबार प्रस्थान गरेको सरयू–कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ। रेलमा एक हजारभन्दा बढी तीर्थयात्री सवार रहेको अनुमान गरिएको छ।
जनकपुरधाम पुगेका रेल तथा तीर्थयात्रीलाई नेपाल र भारतका राष्ट्रिय झण्डासहित स्थानीयवासी, सरकारी प्रतिनिधि तथा विभिन्न संघसंस्थाले भव्य स्वागत गरेका छन्। उनीहरूलाई फूलमाला लगाएर स्वागत गर्नुका साथै रेल्वे स्टेसनमा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो।
प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँ दिल्लीबाट झन्डा देखाएर रेलसेवाको प्रस्थान गराएका थिए। नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार १७ डब्बा रहेको रेलमा आएका तीर्थयात्रीलाई जनकपुरधाम रेल्वे स्टेसनदेखि विभिन्न स्थानमा स्वागत गरिएको हो।
जनकपुरधाम बसाइका क्रममा तीर्थयात्रीहरूले जानकी मन्दिरलगायत धार्मिक स्थलको दर्शन तथा पूजाआजा गर्ने कार्यक्रम रहेको छ। तीन घण्टाको बसाइपछि खाजा खुवाएर उनीहरूलाई बिदाइ गरिने र रेल दिउँसो १ बजेसम्म अयोध्याका लागि फर्किने तालिका रहेको पराजुलीले जानकारी दिएका छन्।
जनकपुरधाम र अयोध्याबीचको रेलसेवाले नेपाल–भारतको धार्मिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्ध थप प्रगाढ बनाउनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।


Online Arthik









