१५औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८३ को अवसरमा कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेड उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ। आन्तरिक राजस्व कार्यालयले सोमबार आयोजित एक समारोहमा कम्पनीलाई सम्मान गरेको हो।
कार्यालयको क्षेत्राधिकारभित्र रहेका करदातामध्ये आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी आयकर दाखिला गरेबापत कम्पनीले उक्त सम्मान प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ। कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत कर्णप्रसाद तिमिल्सिनाले कम्पनीका अध्यक्ष क्याप्टेन आशिष शेरचनलाई दोसल्ला ओढाउनुका साथै सम्मानपत्र प्रदान गरेका थिए।कम्पनी यसअघि नवौँ र १३औँ राष्ट्रिय कर दिवसमा पनि सर्वाधिक आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मानित भइसकेको छ। तेस्रो पटक यस्तो सम्मान प्राप्त हुनु कम्पनीका लागि गर्व र प्रेरणाको विषय भएको अध्यक्ष शेरचनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
कम्पनीले यस उपलब्धिले करप्रतिको जिम्मेवारी, पारदर्शिता र व्यावसायिक प्रतिबद्धतालाई थप सुदृढ बनाएको जनाएको छ। साथै, आगामी दिनमा पनि प्रचलित कर कानुनको पूर्ण पालना गर्दै जिम्मेवार करदाताका रूपमा राष्ट्रको आर्थिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।


Online Arthik









