आकाश क्यापिटल लिमिटेडको आठौँ वार्षिक साधारणसभाले कम्पनीको नाम परिवर्तन गरी ‘कामना सेवा क्यापिटल लिमिटेड’ कायम गर्ने प्रस्ताव पारित गरेको छ। सोमबार ललितपुरको पुल्चोकस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न सभाले नाम परिवर्तनसहित पुँजी वृद्धि, संस्थागत सुदृढीकरण तथा व्यवसायको कार्यक्षेत्र विस्तारसम्बन्धी प्रस्तावहरू पारित गरेको हो।
कामना सेवा विकास बैंक लिमिटेडले आकाश क्यापिटलको संस्थापक सेयर अधिग्रहण गरी आफ्नो सहायक कम्पनी बनाएपछि बसेको यो पहिलो वार्षिक साधारणसभा हो। सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहित वार्षिक वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ। त्यस्तै, कामना सेवा विकास बैंकको प्रतिनिधित्व गर्दै सञ्चालक समितिमा नियुक्त भएका कर्मचारीहरूको नियुक्तिलाई समेत सभाले अनुमोदन गरेको छ।कम्पनीका अनुसार आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया पूरा भएपछि नयाँ नामबाट सञ्चालन हुनेछ। नाम परिवर्तनले कम्पनीको नयाँ स्वामित्व संरचना र संस्थागत पहिचानलाई प्रतिबिम्बित गर्ने अपेक्षा गरिएको छ।
कामना सेवा विकास बैंकको सहायक कम्पनीका रूपमा अघि बढिरहेको क्यापिटलले आगामी दिनमा मर्चेन्ट बैंकिङ तथा पुँजी बजारसम्बन्धी वित्तीय सेवाको दायरा विस्तार गर्ने लक्ष्य लिएको छ। पारित प्रस्तावहरूको कार्यान्वयनसँगै कम्पनीको पुँजीगत आधार र संस्थागत क्षमता थप मजबुत हुने तथा नयाँ लगानीका अवसर उपयोग गर्न सहज हुने विश्वास गरिएको छ।


Online Arthik










