अनलाईन आर्थिक
काठमाडौँ, ३० जेठ

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कोरोनामाथि विजय हुन नसके नेतृत्व नै असफल भएर जाने बताउनुभएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कर्णाली प्रदेश आईसीटी विभागद्वारा आयोजित ‘पाँच दिवसीय सूचना तथा प्रविधिसम्बन्धी तालीम’ सञ्चालनका क्रममा कानूनमन्त्री भण्डारीले कोरोनामाथि विजय हुन नसके नेतृत्व र मुलुकको औचित्य सकिएर जाने बताउनुभयो । उहाँले कर्णाली प्रदेशमा कोरोनाको ‘इपिसेन्टर’ बन्दै गएको दैलेखतर्फ हाल प्रदेश सरकार केन्द्रित भएको जानकारी गराउनुभयो ।

“हामी दैलेखलाई पीसीआर मेसिनको व्यवस्था गर्ने पहलमा छौँ”, उहाँले भन्नुभयो, “प्रदेश सरकार यहाँका नागरिकको जीवन रक्षाका लागि अहोरात्र खटेर सङ्घ र स्थानीय सरकारसँग पनि निर्वाध समन्वय गरिरहेको छ ।” प्रदेशमा २७ आइसोलेशन सेन्टर खडा गरेर अघि बढेको र प्रदेश सरकारले क्वारेन्टिनको प्रभावकारी व्यवस्थापनका लागि लागि गृहकार्य गरिरहेका उहाँको भनाइ थियो ।

पूँजीवादी विकसित देश पनि कोरोना भाइरसबाट हायलकायल भएको जिकिर गर्दै मन्त्री भण्डारीले सीमित साधन स्रोतमा रहेर कर्णाली प्रदेश सरकारले बाध्यात्मक काम गर्नुपरेको बताउनुभयो । कोरोनाविरुद्धको कठिन लडाइँको घडीमा हरेकलाई औचित्य पुष्टि गर्ने अवसर मिलेको बताउँदै उहाँले सम्पूर्ण शिक्षकलाई आ–आफ्नो क्षेत्रबाट कोरोना प्रतिकार्यको अभियानमा जुट्न आग्रह गर्नुभयो ।

सङ्क्रमित स्थानीय तह र गाउँमा प्रवेश गरिहाल्दा दुनियाँ भासियो र लीला नै समाप्त पार्छ भन्ने अतिवादी बुझाइलाई चिर्न र समाजमा सकारात्मक सन्देश प्रवाह गर्न पनि उहाँले शिक्षकलाई अनुरोध गर्नुभयो । शिक्षकको तत्काल विद्यालय खोल्ने वा के हुने ? भन्ने जिज्ञासामा उहाँले चाँडै विद्यालय सञ्चालन गर्न उपयुक्त नहुने धाराण राख्नुभएको थियो । उक्त अनलाइन तालीममा दैनिक ५५–८० शिक्षक सहभागी हुने गरेको सङ्गठन कर्णाली प्रदेश उपाध्याक्ष तथा आईसीटी विभागका संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया