प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता प्रक्रिया देशभर जारी रहेको छ । निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म १६५ वटै निर्वाचन क्षेत्रमा गरी कुल १ हजार २१४ जनाको उम्मेदवारी परेको छ । तीमध्ये ६५९ जनाको उम्मेदवारी रुजु भइसकेको छ भने ५५५ जनाको रुजु हुन बाँकी रहेको आयोगले जनाएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । समानुपातिकतर्फको मनोनयन यसअघि पुस १३ र १४ गते सम्पन्न भइसकेको छ भने प्रत्यक्षतर्फको मनोनयन आज भइरहेको छ ।

निर्वाचन आयोगका अनुसार उम्मेदवारले उम्मेदवारी दर्ताका क्रममा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ । साथै, उम्मेदवारको नाम सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा समावेश भएको निस्सा आवश्यक पर्नेछ । सरकार वा सरकारी स्वामित्वको संस्थामा बहाल उम्मेदवारले सम्बन्धित पदबाट राजीनामा दिएको प्रमाण पनि पेस गर्नुपर्नेछ ।

प्रचलित कानुनअनुसार उम्मेदवारले सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम भएका एक जना प्रस्तावक र एक जना समर्थकको विवरण तथा हस्ताक्षरसहितको मनोनयन पत्र बुझाउनुपर्नेछ । दलको तर्फबाट उम्मेदवारी दिँदा सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समितिले जारी गरेको औपचारिक मनोनयन पत्र अनिवार्य हुनेछ भने संयुक्त दलको हकमा छुट्टै ढाँचाको पत्र आवश्यक पर्नेछ ।

उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा १० हजार रुपैयाँ धरौटी रकम जम्मा गरेको रसिद पेस गर्नुपर्नेछ । महिला, दलित, अल्पसंख्यक तथा आर्थिक रूपमा विपन्न उम्मेदवारलाई धरौटी रकममा ५० प्रतिशत छुट दिइने व्यवस्था छ । आर्थिक रूपमा विपन्नको हकमा सम्बन्धित स्थानीय तहको सिफारिस पत्र आवश्यक हुनेछ ।

यसका साथै उम्मेदवारले निर्वाचन निर्देशिका २०८२ अनुसारको स्वघोषणा पत्र र वैयक्तिक विवरण फाराम पेस गर्नुपर्नेछ । उम्मेदवारले आफ्नो चल–अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेको खाता, सेयर, धितोपत्र, ऋणपत्र तथा ऋण/उधारोसहितको सम्पूर्ण विवरण सिलबन्दी रूपमा बुझाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया