नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको प्रथम वार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ।
कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न सभाले लगानीका दायरा विस्तार गर्दै सरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कोषहरूसँग सार्वजनिक–निजी साझेदारीमार्फत ठूला र रोजगारमूलक आयोजनामा लगानी गर्ने निर्णय गरेको छ।
साधारणसभामा अध्यक्ष ढकालले कम्पनीले लगानी विविधीकरण, जोखिम व्यवस्थापन र प्रणाली विकासमार्फत सुरक्षित लगानीको वातावरण बनाउन प्रयासरत रहेको बताए। उनले हालको आर्थिक सुस्तताबीच पनि यस कम्पनीले देशको उत्पादन, रोजगारी र आर्थिक वृद्धि प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कम्पनीले जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषि, घरेलु तथा साना–मझौला उद्योगमा लगानी विस्तार गर्ने, साथै “एनडीपी भेन्चर” र “एनडीपी डेभलपर” नामका संरचना स्थापना गरी पूर्वाधार तथा आवास क्षेत्रमा लगानी गर्ने योजना अघि सारेको छ।
एक वर्षअघि स्थापना भएको यस कम्पनीको चुक्तापूँजी १० अर्ब रुपैयाँ रहेको छ भने ४६ जिल्लाका २४६ जना सेयरधनी यसमा आवद्ध छन्।

Online Arthik









