सिद्धार्थ बैंकले डिजिटल भुक्तानी सेवामा नयाँ आयाम थप्दै फोनपेसँगको सहकार्यमा ‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ। नेपाल प्रिमियर लिगको दोस्रो संस्करणकै अवसरमा विशेष समारोहमार्फत कार्डको शुभारम्भ गरिएको हो।

नयाँ भर्चुअल क्रेडिट कार्डले ग्राहकलाई भौतिक कार्ड बिनै देशभरका १८ लाखभन्दा बढी व्यवसायिक स्थलमा छिटो, सहज र सुरक्षित भुक्तानी गर्ने सुविधा प्रदान गर्दछ। डिजिटल बैंकिङ प्रयोगकर्ता लक्षित यो कार्ड तुरुन्तै सक्रियता, कार्ड नियन्त्रण क्षमता, र उच्चस्तरीय सुरक्षा जस्ता विशेषतासहित बजारमा प्रस्तुत गरिएको बैंकको भनाइ छ।

ग्राहकले मोबाइल बैंकिङ एपमार्फत सजिलै कार्डका लागि आवेदन, कार्ड प्राप्ति, तथा सक्रियता गर्न सक्नेछन्। साथै, एपकै माध्यमबाट क्रेडिट सीमा व्यवस्थापन, कार्ड लक–अनलक, स्टेटमेन्ट हेर्न, र आवश्यक भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ, जसले सम्पूर्ण कार्ड सेवा पूर्ण रूपमा डिजिटल बनाइदिन्छ।

उद्घाटनकाे अवसरमा, बैंकले आकर्षक लन्च अफर पनि ल्याएको छ। यस कार्डमार्फत गरिने प्रत्येक कारोबारमा ५० प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ, जसको अधिकतम सीमा ७५० रुपैयाँ रहनेछ। यस अफरले प्रारम्भिक सदस्यता शुल्क समायोजन गर्न सहयोग पुर्‍याउने बैंकको दाबी छ। क्यासब्याक अफर ७ डिसेम्बर २०२५ देखि ७ जनवरी २०२६ सम्म मात्र उपलब्ध हुनेछ।

बैंकका अनुसार, सेवासम्बन्धी थप जानकारी तथा सहयोगको लागि ग्राहकले २४ घण्टा सञ्चालन हुने ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया