हेटौंडाको मुख्य बजार क्षेत्रको सडक विस्तारका क्रममा विस्थापित भएका परिवारहरूलाई आवास व्यवस्थाका लागि सहजीकरण गर्ने निर्णय हेटौंडा उपमहानगरपालिकाले गरेको छ। आइतबार बिहान बसेको ७६औं कार्यपालिका बैठकले सडक विस्तारका कारण घरवारविहीन बनेकालाई सहयोग र समन्वय गर्ने विशेष निर्णयहरू गरेको हो।
शनिबारदेखि सडक डिभिजन कार्यालय हेटौंडाले पूर्व–पश्चिम राजमार्ग तथा त्रिभुवन राजपथको सडक सीमाभित्र पर्ने २५/२५ गज (७५/७५ फिट) भित्रका पहिल्यै रेखांकन गरिएका संरचनाहरू भत्काउन शुरू गरेको थियो। यस क्रममा करिब ५०० घरटहरा तथा संरचनाका सटर, झ्यालढोका र भवनका भित्ताहरू क्षतविक्षत बनेका छन्।
घरटहरा भग्नावशेष बनेपछि उपमहानगरपालिकाले प्रभावित परिवारका लागि तत्कालीन राहत तथा दीर्घकालीन आवास व्यवस्थापनबारे निर्णय गरेको प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिए। उनका अनुसार, जग्गाको अंश नरहने तथा अन्यत्र घरजग्गा नभएका घरधनीहरूको विवरण वडा कार्यालयमार्फत संकलन गरी मालपोतबाट जाँचपछाडि उपयुक्त आवास योजनाबाट व्यवस्था गरिनेछ।
भवन पुनर्निर्माणका लागि आवश्यक खर्च व्यवस्थापन गर्न सहुलियतपूर्ण व्याजदरमा ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयमार्फत नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ। साथै प्रभावितहरूले भवन निर्माण गर्दा सहजता होस् भनेर फास्ट ट्र्याक प्रक्रियाबाट नक्सापास तथा प्राविधिक सहयोग उपलब्ध गराइनेछ।
व्यवसाय प्रभावित भएका व्यापारीहरूको लगत संकलन गरी व्यवसाय पुनःसुरु नहुँदासम्म व्यवसाय कर छुट दिने प्रस्ताव नगर सभामा पेश गर्ने तयारी उपमहानगरको छ। साथै मुख्य बजार हुँदै जाने त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ।
उपमहानगरपालिकाले प्रभावित क्षेत्रको पहिचान र सौन्दर्य कायम रहोस् भन्ने उद्देश्यले नमूना घर निर्माण मोडल तयार गरी कार्यान्वयन गर्ने बताएको छ। यसैगरी, २०२० वर्गफिटसम्मका नक्सा पास दस्तुर छुट दिने र भवन निर्माणका लागि सामग्री सुलभ रूपमा उपलब्ध गराउन सहजीकरण गर्ने निर्णय पनि गरिएको छ।
सडक विस्तारका क्रममा महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म ८.५ किलोमिटर सडक विस्तार भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ। कुल ५३१ संरचना भत्काउनुपर्नेमा सडकको दायाँतर्फ २३४ र बायाँतर्फ २९७ घर तथा टहरा पर्ने डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए।

Online Arthik









