सेवा पहुँच विस्तार र ग्राहक अनुभव सुदृढ बनाउने लक्ष्यसहित सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नारायणी क्षेत्रअन्तर्गतका तीन शाखालाई नयाँ तथा आधुनिक संरचनायुक्त कार्यालयमा स्थानान्तरण गरी औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। स्थानान्तरण गरिएका शाखाहरूमा टाडि शाखा (रत्ननगर–२ टाडि), भरतपुर शाखा (भरतपुर–३, शहीदचोक, नारायणघाट) र चनौली शाखा (भरतपुर–१८) रहेका छन्।
कम्पनीले नयाँ कार्यालयमार्फत विद्यमान तथा नयाँ पोलिसीहोल्डरलाई अझ छरितो, सहज र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।
उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, प्रदेश प्रमुख ईश्वर बिकल सापकोटा, सम्बन्धित शाखा प्रबन्धक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै सीईओ अर्यालले, सेवा सुविधालाई ग्राहकसम्म प्रभावकारी रूपमा पुर्याउन संरचनागत सुदृढीकरण अत्यावश्यक रहेको उल्लेख गर्दै शाखा स्थानान्तरण पहल ग्राहकमैत्री सेवातर्फको महत्वपूर्ण कदम भएको बताए।
त्यसैगरी, प्रमुख बजार अधिकृत गणेश चौलागाईले नयाँ स्थानका शाखामा छिटो सेवा, सुलभ काउण्टर, डिजिटल अभिलेख प्रणाली, र सहज ग्राहक मार्गदर्शन जस्ता संरचनागत सुधारहरूले ग्राहक सन्तुष्टि उल्लेख्य रूपमा बढाउने विश्वास व्यक्त गरे।
सन नेपाल लाइफले संस्थागत सेवा गुणस्तर, पारदर्शिता र ग्राहकहितलाई प्राथमिकतामा राख्दै सरोकारवालामैत्री सेवा विस्तार निरन्तर गर्दै आएको छ। हाल कम्पनीले देशभरका १४८ शाखा तथा उप–शाखामार्फत जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ।

Online Arthik









