अशोक स्टील इन्डस्ट्रिज प्रालिले सन् २०२५ मा आम्दानीमा उल्लेख्य वृद्धि गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको आम्दानी २१.२२ प्रतिशत अर्थात् ७६ करोड १० लाख रुपैयाँले बढेर ४ अर्ब ३४ करोड ७० लाख रुपैयाँ पुगेको छ। सन् २०२४ मा कम्पनीको आम्दानी ३ अर्ब ५८ करोड ६० लाख रुपैयाँ थियो।

तर, सन् २०२३ सँग तुलना गर्दा यस वर्षको आम्दानी ३४.७२ प्रतिशत कम छ, किनकि सन् २०२३ मा कम्पनीले ६ अर्ब ६६ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो। यसअघि कम्पनीले सन् २०२१ मा ४ अर्ब ५२ करोड २० लाख र सन् २०२२ मा ६ अर्ब ८८ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो।

अशोक स्टील इन्डस्ट्रिज सन् १९८४ मा स्थापित भएको कम्पनीले स्पञ्ज आइरन, पिग आइरन र स्क्राइब कच्चा पदार्थ प्रयोग गरी एमएस ब्लेड उत्पादन गर्दै आएको छ। गढीमाई बारामा उद्योग रहेको कम्पनीले वार्षिक १ लाख मेट्रिक टन टीएमटी उत्पादन गर्दै आएको छ।

कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशक पूनमचन्द अग्रवाल हुन्, जसलाई स्टील उद्योगमा ३० वर्षभन्दा बढी अनुभव छ। प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिषेक तुलसियान कम्पनीको संचालनमा छन्। कम्पनीसँग देशभर २५० भन्दा बढी डिलर र ५ सयभन्दा बढी खुद्रा बिक्रेता छन्।

सन् २०२५ मा कम्पनीले ३ अर्ब ४३ करोड रुपैयाँ ऋण लिएको छ, जुन सन् २०२४ को ३ अर्ब ३ करोड रुपैयाँको तुलनामा बढेको हो। यसमध्ये १ अर्ब ७९ करोड २३ लाख दीर्घकालीन र १ अर्ब ६३ करोड ७७ लाख अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ।

अशोक स्टील इन्डस्ट्रिजले चार दशकदेखि नेपाली बजारमा आफ्नो उपस्थिती कायम राख्दै विश्वसनीय उत्पादन र सेवा मार्फत बजारमा आफ्नो स्थान बलियो बनाउँदै आएको छ।

तपाईको प्रतिक्रिया