मुस्ताङस्थित नेपाल–चीन उत्तरी कोरलानाकाबाट हुने आयात–निर्यात कारोबार पछिल्लो समय उल्लेखनीय रूपमा न्यून हुँदै गएको छ। तातोपानी र रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै व्यापारीहरूले ती नाकालाई प्राथमिकता दिन थालेपछि कोरलानाकाबाट हुने व्यापार घटेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ।

भन्सार कार्यालयका सूचना अधिकारी निमेन्द्र सिंहका अनुसार हाल कोरलानाकाबाट नेपाल भित्रिएका आठ–दशवटा मालवाहक कन्टेनर मात्र भन्सार जाँचपासका लागि पेन्डिङमा रहेका छन्। पेन्डिङ कन्टेनरबाहेक पछिल्लो समय थप कन्टेनर भित्रिन नआएको उनले जानकारी दिए।

यसअघि तातोपानी र रसुवागढी नाका बन्द रहँदा कोरलानाकाबाट दैनिक १५ देखि २० वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास हुने गरेकामा अहिले त्यो संख्या लगभग शून्यमा झरेको छ। गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कोरलानाकाबाट हालसम्म साढे पाँच अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भइसकेको छ।सूचना अधिकारी सिंहका अनुसार कोरलानाकाबाट हालसम्म ११ अर्ब रुपैयाँभन्दा बढीको मालवस्तु आयात भएको छ भने नेपालबाट रु १९ करोडभन्दा बढी मूल्यका हस्तकला तथा नेपाली उत्पादन चीनतर्फ निर्यात भएका छन्। साथै, हालसम्म दुई हजार १०० भन्दा बढी विद्युतीय कार चीनबाट नेपाल भित्रिएका छन्, जसमा पछिल्लो पटक बिवाइडी कम्पनीका झन्डै ५०० विद्युतीय कार समावेश छन्।तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलानाका वैकल्पिक नाकाका रूपमा सीमित रूपमा प्रयोग भइरहेको छ। यो नाकाबाट ढुवानी गर्दा लागत बढी पर्ने भएकाले आयात–निर्यातको परिमाण घटेको भन्सार कार्यालयको भनाइ छ। कारोबार घटेसँगै भन्सार कार्यालयका कर्मचारीहरू समेत तुलनात्मक रूपमा फुर्सदिला भएका छन्।यद्यपि, प्रमुख सिंहले प्रतिकूल मौसमबाहेक अन्य समयमा कोरलानाकाबाट आयात–निर्यात कारोबार पूर्ण रूपमा शून्य नहुने दाबी गरेका छन्। उनका अनुसार केही व्यापारीका लागि कोरलानाकाबाटै व्यापार गर्न अझै सहज हुने भएकाले विगतजस्तो भन्सार ठप्प हुने अवस्था नआउने विश्वास व्यक्त गरिएको छ।

हाल कोरलानाका क्षेत्रमा चहलपहल घटेको छ। उच्च हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारण व्यापारमा संलग्न व्यापारी, स्थानीय युवा तथा ढुवानीमा संलग्न श्रमिकहरू जाडो छल्न बेँसी झरेका छन्, जसले नाकाको गतिविधिमा थप सुस्तता आएको छ।

तपाईको प्रतिक्रिया