भन्सार विभागले भारतीय तथा तेस्रो मुलुकका पर्यटकलाई लक्षित गर्दै स्थलमार्गबाट नेपाल प्रवेश गर्ने सवारी साधनको दर्ता प्रक्रिया अनलाइनमार्फत सुरु गरेको छ। डा. स्वर्णिम वाग्लेले मंगलबार उक्त प्रणालीको शुभारम्भ गरेका हुन्। नयाँ व्यवस्था अनुसार अब विदेशी नम्बर प्लेटका सवारी साधनले घरबाटै अनलाइनमार्फत विवरण भर्न र राजश्व तिर्न सक्नेछन्, जसले भन्सार नाकामा पुगेर अस्थायी इजाजत लिनुपर्ने झन्झट हटाएको छ। साथै, यात्रा अवधि सकिँदा नवीकरणका लागि पुनः नाकामा जानुपर्ने वा जरिवाना तिर्नुपर्ने बाध्यता पनि अन्त्य भएको छ, किनकि अब अनलाइनबाटै अवधि थप गर्न सकिनेछ।
कार्यक्रममा अर्थमन्त्री वाग्लेले नयाँ प्रणालीले सीमा क्षेत्रमा पर्यटकले भोग्ने समस्या कम गर्ने र सार्वजनिक सेवा छिटो तथा प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। भन्सार विभागका महानिर्देशक श्याम प्रसाद मैनालीका अनुसार अब विदेशी सवारी साधनको इजाजत प्रक्रिया पूर्ण रूपमा डिजिटल भएको छ, जसले पारदर्शिता र सहजता बढाउनेछ। राजश्व भुक्तानी अनलाइन वा बैंकमार्फत गर्न सकिनेछ, र भुक्तानीपछि प्राप्त क्यूआर कोड देखाएर सवारीले भन्सार जाँच पार गर्न तथा नेपालभर यात्रा गर्न अनुमति पाउनेछ। ‘नेपाल राष्ट्रिय एकद्वार प्रणाली’ अन्तर्गत विकास गरिएको अस्थायी सवारी आयात (टीआईभी) मोड्युल हाल भारत र बंगलादेशबाट आउने सवारीका लागि लागू गरिएको छ, र आवश्यकताअनुसार अन्य देशमा पनि विस्तार गरिने जनाइएको छ।

Online Arthik










