जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२४१.२२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले ७ लाख ६९ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ । तेस्रो त्रैमाससम्म संस्थाले ९ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.७८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ९ करोड ९ लाख रुपैयाँ रहेको थियो । यस अवधिसम्म संस्थाको कुल सञ्चालन आम्दानी ११ करोड ३० लाख रुपैयाँ तथा सञ्चालन मुनाफा १ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।
यद्यपि संस्थाको वितरणयोग्य मुनाफा भने १२ लाख ८५ हजार रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । साथै खराब कर्जा अनुपात उल्लेख्य रूपमा बढेको देखिएको छ । अघिल्लो वर्ष ६.५२ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर २१.४५ प्रतिशत पुगेको छ ।संस्थाले इम्पेयरमेन्ट चार्जका लागि १ करोड ७२ लाख रुपैयाँ छुट्टाएको जनाएको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ८.०१ रुपैयाँ तथा प्रतिसेयर नेटवर्थ १७०.११ रुपैयाँ कायम भएको छ ।

Online Arthik









