डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोला भाइरस रोग का कारण हालसम्म ८८ जनाको मृत्यु भएको र ३३६ जनामा संक्रमणको आशंका गरिएको छ। अवस्था गम्भीर बन्दै गएपछि विश्व स्वास्थ्य सङ्गठन ले यसलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ।

स्वास्थ्य अधिकारीहरूका अनुसार रोग तीव्र रूपमा फैलिरहेको छ र मृत्युदर करिब ५० प्रतिशतसम्म पुग्न सक्ने चेतावनी दिइएको छ।

स्वास्थ्य मन्त्रालयले सम्बन्धित इबोला प्रजातिका लागि हालसम्म प्रभावकारी खोप उपलब्ध नभएको जनाएको छ, जसले नियन्त्रण प्रयासलाई अझ चुनौतीपूर्ण बनाएको छ।स्वास्थ्य सहायता संस्थाहरूले आपतकालीन सहयोग, औषधि तथा उपचार टोली पठाउने तयारी गरिरहेका छन्। प्रकोप कङ्गोको इटुरी क्षेत्रमा सुरु भएको हो, जुन युगान्डा र दक्षिण सुडानसँग सीमा जोडिएको संवेदनशील क्षेत्र हो। प्रारम्भिक संक्रमित एक स्वास्थ्यकर्मी भएको बताइएको छ स्थानीय रिपोर्टअनुसार उपचार केन्द्र र आइसोलेसन सुविधाको अभावका कारण केही बिरामी घरमै मृत्यु भइरहेका छन्, जसले संक्रमण फैलिने जोखिम अझ बढाएको छ।

विश्व स्वास्थ्य सङ्गठनले अवस्था अझै बिग्रिन सक्ने भन्दै उच्च सतर्कता, छिटो पहिचान र कडा नियन्त्रण उपाय अपनाउन सबै पक्षलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया