बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र अर्थात् लाइसेन्ससँग सम्बन्धित सबै प्रकारका शुल्क दोब्बर बनाएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि ल्याइएको आर्थिक विधेयकमार्फत नयाँ शुल्कदर निर्धारण गरिएको हो, जुन आगामी साउनदेखि लागू हुनेछ।
नयाँ व्यवस्थाअनुसार लाइसेन्स आवेदन शुल्क ५०० रुपैयाँबाट बढाएर १ हजार रुपैयाँ कायम गरिएको छ। मोटरसाइकल तथा स्कुटर (ए वर्ग) को नयाँ लाइसेन्स र नवीकरण शुल्क अब ३ हजार रुपैयाँ लाग्नेछ, जुन हाल १ हजार ५०० रुपैयाँ रहेको छ। त्यस्तै, कार, जीप, भ्यान (बी वर्ग), टेम्पो तथा अटोरिक्सा (सी) र पावर ट्रिलर (डी) को नयाँ लाइसेन्स तथा नवीकरण शुल्क २ हजारबाट बढाएर ४ हजार रुपैयाँ पुर्याइएको छ।
यस्तै, ट्र्याक्टर (ई) तथा मिनिबस र मिनी ट्रक (एफ) वर्गका सवारीको लाइसेन्स र नवीकरण शुल्क २ हजार ५०० रुपैयाँबाट बढाएर ५ हजार रुपैयाँ कायम गरिएको छ।

Online Arthik










