अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य उल्लेख्य रूपमा घटाएको छ। नयाँ मूल्य असार १७ गते राति १२ः०१ बजेदेखि लागू हुने निगमले जनाएको छ।
नयाँ व्यवस्थाअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेल/मट्टितेल प्रतिलिटर ३० रुपैयाँ र एलपी ग्यास प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ। निगमका अनुसार इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्यमा आएको कमीका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार उपभोक्ता मूल्य समायोजन गरिएको हो।मूल्य समायोजनपछि पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गमा १९७ रुपैयाँ कायम भएको छ। डिजेल/मट्टितेल पहिलो वर्गमा १९२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९४ रुपैयाँ र तेस्रो वर्गमा १९५ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ।
यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ३० रुपैयाँ घटाएर २२९ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि हवाई इन्धनको बिक्री मूल्य प्रति किलोलिटर २६५ अमेरिकी डलरले घटाइएको निगमले जनाएको छ।

Online Arthik










