कृषि, वन तथा वातावरण मन्त्रालयले साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धानबालीका लागि आवश्यक मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले सरकार–सरकार (जीटुजी) सम्झौता र अन्तर्राष्ट्रिय टेन्डरमार्फत आयात प्रक्रिया अघि बढाएको हो।
मन्त्रालयका अनुसार भारतसँगको जीटुजी सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन युरिया मल साउनको दोस्रो साताभित्र नेपाल आइपुग्नेछ। भारतसँग कुल ८० हजार मेट्रिक टन मल आपूर्तिको सम्झौता भएको छ।यस्तै, अन्तर्राष्ट्रिय टेन्डरमार्फत १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयात गरिनेछ। यसमध्ये ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया रहेको मन्त्रालयले जनाएको छ।साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार ३० हजार मेट्रिक टन डीएपी भिसाखापट्टनम बन्दरगाह पुगिसकेको छ र असार १९–२० गतेसम्म नेपाल आइपुग्नेछ। अन्य युरिया र डीएपीका खेप ओमान, कतार, साउदी अरेबिया र भियतनामबाट क्रमशः नेपाल ल्याइँदै छन्।मन्त्रालयले मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मलको उपलब्धता प्रभावित भए पनि किसानलाई सहज रूपमा मल उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाइएको जनाएको छ।
चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन रासायनिक मल अनुदानमा उपलब्ध गराउने लक्ष्य राखिएको मन्त्रालयले मल वितरणलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन अनलाइन प्रणालीमा सम्बन्धित विवरण अनिवार्य रूपमा अद्यावधिक गर्न निर्देशन दिएको छ।

Online Arthik










