नेपाल राष्ट्र बैंकले देशभरका वित्तीय सेवाग्राहीको अनुभव र सन्तुष्टि मापन गर्न देशव्यापी वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण सञ्चालन गर्ने भएको छ ।

केन्द्रीय बैंकका अनुसार सर्वेक्षणमा ७७ वटै जिल्लाका सबै प्रकारका स्थानीय तह समेटिनेछन् । ‘र्यान्डम स्याम्पलिङ’ विधिबाट वडा छनोट गरी कुल १० हजार ४०५ वटा नमुना संकलन गरिनेछ ।सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, सेवा गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा वित्तीय सेवा लिएका ग्राहकको धारणा र अनुभव संकलन गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक संरक्षण तथा वित्तीय सेवाको गुणस्तर अभिवृद्धिसम्बन्धी नीति, कार्यक्रम र नियामकीय व्यवस्था सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सर्वेक्षणमा सहभागिता स्वेच्छिक हुनेछ । सहभागीले आफूलाई असहज लागेका प्रश्नको उत्तर दिनुपर्ने बाध्यता रहने छैन । साथै, संकलित विवरण तथा जानकारी तथ्याङ्क ऐन, २०७९ अनुसार गोप्य राखिने र केवल तथ्याङ्कीय प्रयोजनका लागि सामूहिक रूपमा मात्र प्रयोग गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया