ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब २२ करोड ७१ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २२.६७ प्रतिशतले बढी हो। बैंकले आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब ७ करोड ६३ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद ब्याज आम्दानी भने २.८६ प्रतिशतले घटेको छ। गत वर्ष १६ अर्ब २० करोड ३० लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले अघिल्लो वर्ष १६ अर्ब ६७ करोड ९९ लाख ३९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।यद्यपि, शुल्क तथा कमिसन आम्दानी र सञ्चालन नाफामा उल्लेखनीय सुधार देखिएको छ। गत आर्थिक वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३ अर्ब ६४ करोड ५ लाख ५४ हजार रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी २१ अर्ब ८० करोड ३९ लाख ७५ हजार रुपैयाँ तथा सञ्चालन नाफा ८ अर्ब ६८ करोड २१ लाख १३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा सञ्चालन नाफा ७ अर्ब २३ करोड ३१ लाख ७३ हजार रुपैयाँ रहेको थियो।गत वर्ष बैंकको वितरणयोग्य नाफा ४ अर्ब ५८ करोड १० लाख ६४ हजार रुपैयाँ पुगेको छ। यसका आधारमा बैंकको लाभांश वितरण क्षमता १२.०२ प्रतिशत रहेको देखिएको छ।हाल बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २७ अर्ब १० करोड ९३ लाख ४७ हजार रुपैयाँ सञ्चित छ।व्यवसाय विस्तारतर्फ पनि बैंकले उल्लेखनीय वृद्धि गरेको छ। गत असार मसान्तसम्म बैंकको निक्षेप संकलन २१.५२ प्रतिशतले बढेर ६ खर्ब ६९ अर्ब १७ करोड १४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सो अवधिमा निक्षेप ५ खर्ब ५० अर्ब ६२ करोड ८५ लाख रुपैयाँ रहेको थियो।त्यस्तै, कर्जा लगानी ७.१२ प्रतिशतले बढेर ४ खर्ब ३९ अर्ब ३४ करोड ५१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले ४ खर्ब १० अर्ब ११ करोड ३९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। समीक्षा अवधिमा बैंकको निक्षेप–कर्जा (सीडी) अनुपात ६८.४३ प्रतिशत कायम रहेको छ।बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि १३.३२ रुपैयाँबाट बढेर १६.३४ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ १८३.१४ रुपैयाँ रहेको बैंकको मूल्य–आम्दानी (पी/ई) अनुपात १४.६९ गुणा रहेको छ।
यद्यपि, बैंकको खराब कर्जा (एनपीएल) भने सामान्य बढेको छ। अघिल्लो आर्थिक वर्षमा ४.८६ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षको अन्त्यसम्म ४.९६ प्रतिशत पुगेको बैंकले जनाएको छ।

Online Arthik










