एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले ओखलढुङ्गामा निर्माणाधीन २१ मेगावाट क्षमताको आयु मोलुङ खोला जलविद्युत आयोजनामा १० करोड रुपैयाँ लगानी गर्ने भएको छ।
कम्पनीको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले आयु मोलुङ हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजनामा संस्थापक सेयरमार्फत लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको हो। निर्णयअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता संस्थापक सेयर खरिद गर्नेछ। यससँगै आयोजनामा कम्पनीको कुल लगानी १० करोड रुपैयाँ पुग्नेछ। ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकामा निर्माणाधीन आयु मोलुङ खोला जलविद्युत आयोजना २१ मेगावाट क्षमताको आयोजना हो। कम्पनीले यस लगानीमार्फत जलविद्युत क्षेत्रमा आफ्नो लगानी विस्तार गर्दै दीर्घकालीन प्रतिफल हासिल गर्ने लक्ष्य राखेको जनाएको छ।
उक्त लगानीले आयोजनाको वित्तीय व्यवस्थापनमा सहयोग पुग्नुका साथै निर्माण कार्यलाई थप गति मिल्ने अपेक्षा गरिएको छ।

Online Arthik










