ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि नेपालपे कार्ड सेवा सञ्चालनमा ल्याउने भएको छ। यसका लागि बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच सम्झौता भएको छ, जसअनुसार बैंकले एनसीएचएल–ईएफटी कार्ड स्विचमार्फत नेपालपे कार्ड जारी गर्न सक्नेछ।

यससँगै ज्योति विकास बैंकका ग्राहकले नेपालपे कार्ड प्रयोग गर्न पाउनेछन्। साथै, डिस्कभर नेटवर्क अन्तर्गतका अन्तर्राष्ट्रिय कार्ड तथा आरयुपे कार्ड समेत स्वीकार गर्दै नेपालपे कार्ड कारोबार प्रक्रिया सञ्चालन गर्न सकिने बैंकले जनाएको छ। एनसीएचएलले हालै नेपालपे कार्डको व्यावसायिक सञ्चालन सुरु गरेपछि डिस्कभर नेटवर्कसँगको सहकार्यमा नेपाल र विदेशका एटीएम तथा पीओएस टर्मिनलमा पनि नेपालपे कार्ड प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।हाल एनसीएचएलको ईएफटी सेवामार्फत ११ सदस्य बैंक तथा वित्तीय संस्थाले विभिन्न अन्तर्राष्ट्रिय कार्ड प्रणाली सञ्चालन गरिरहेका छन् भने नेपालपे प्रणालीमा ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेका छन्। तीमध्ये आठ संस्थाले नेपालपे कार्ड जारी गरिसकेका छन् भने ११ भन्दा बढी संस्थाले कार्ड स्वीकार (अक्वायरिङ) सेवा सुरु गरिसकेका छन्।

ज्योति विकास बैंकले देशभर १२१ शाखा, दुई एक्सटेन्सन काउन्टर र ७५ एटीएममार्फत सेवा प्रदान गर्दै डिजिटल बैंकिङ विस्तारलाई प्राथमिकता दिइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया