नेपालमै विकसित बहुप्रकोप पूर्वसूचना प्रणाली ‘मैना’ को परीक्षण सफल भएको छ। इनोभेटिभ इन्जिनियरिङ सर्भिसेस प्रालिले विकास गरेको यो प्रणालीले बाढी, पहिरो, डुबान, हिमताल विस्फोट, वन डढेलो, औद्योगिक दुर्घटनालगायत विभिन्न विपद्का बेला समयमै चेतावनी सूचना प्रवाह गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रणालीका डिजाइनकर्ता तथा कार्यकारी अध्यक्ष एवं प्राविधिक प्रमुख इन्जिनियर अनुप खनालका अनुसार मानिसको आवाजको नक्कल गर्न सक्ने र सूचना प्रवाहसँग जोडिने विशेषता भएकाले यस प्रणालीको नाम ‘मैना’ राखिएको हो। प्रणालीमार्फत एसएमएस, इन्टरनेट, स्याटेलाइट नेटवर्क तथा वायरलेस रिमोट कन्ट्रोलबाट तत्काल चेतावनी सन्देश पठाउन सकिन्छ। साथै, विभिन्न स्थानीय भाषामा पूर्व–रेकर्ड गरिएका वा प्रत्यक्ष (लाइभ) आवाज सन्देशसमेत प्रसारण गर्न सकिने सुविधा रहेको छ। ठूलो बाढी वा अत्यधिक वर्षाका बेला सेन्सरबाट प्राप्त रियल–टाइम सूचनाका आधारमा प्रणालीले स्वचालित रूपमा साइरन बजाएर समुदायलाई सचेत गराउने व्यवस्था पनि गरिएको छ। सौर्य ऊर्जाबाट सञ्चालन हुने यो प्रणालीको सबै उपकरणको अवस्था केन्द्रबाटै अनुगमन गर्न सकिने भएकाले स्थानीय सरकार, समुदाय, जलविद्युत् आयोजना, उद्योग तथा विपद् व्यवस्थापन निकायका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।नेपालमा जलवायु परिवर्तन, अव्यवस्थित भू–उपयोग र बढ्दो मानवीय गतिविधिका कारण बहुप्रकोपको जोखिम बढ्दै गएको अवस्थामा समयमै सूचना प्रवाह गर्न सक्षम यस्ता आधुनिक पूर्वसूचना प्रणालीको आवश्यकता झन् बढेको विज्ञहरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले भविष्यका चुनौती सामना गर्न बहुप्रकोप पूर्वसूचना प्रणाली अपरिहार्य बन्दै गएको बताए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव गोकर्ण पन्थले यस्ता प्रणालीको प्रभावकारी प्रयोगबाट विशेषगरी जलविद्युत् आयोजनामा हुने जनधनको क्षति उल्लेखनीय रूपमा न्यूनीकरण गर्न सकिने बताए। सामुदायिक प्रकोप व्यवस्थापन समितिको राष्ट्रिय सञ्जाल नेपाल (एन–सीडीएमसी) का अध्यक्ष श्यामबाबु कट्टेलले विपद् रोक्न नसकिने भए पनि समयमै सूचना पुगेमा जनधनको क्षति उल्लेखनीय रूपमा घटाउन सकिने भन्दै आधुनिक पूर्वसूचना प्रविधिको प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया