सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरणअनुसार उल्लेखनीय वित्तीय सुधार हासिल गर्दै खुद नाफामा १८१.३६ प्रतिशतको वृद्धि गरेको जनाएको छ। संस्थाले गत आर्थिक वर्षमा ७ करोड ६१ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको २ करोड ७० लाख ७७ हजार रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो।

संस्थाको खुद ब्याज आम्दानी ३५.५५ प्रतिशतले बढेर १८ करोड ४९ लाख ४५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १३ करोड ६४ लाख ३७ हजार रुपैयाँ रहेको थियो।समीक्षा अवधिमा कुल सञ्चालन आम्दानी ३४.८५ प्रतिशतले वृद्धि भई २१ करोड ४१ लाख ५३ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १३४.२५ प्रतिशतले बढेर १० करोड १९ लाख ७० हजार रुपैयाँ पुगेको छ। संस्थाको वितरणयोग्य नाफा ६ करोड ७० लाख ७८ हजार रुपैयाँ कायम भएको छ, जसका आधारमा वितरणयोग्य लाभांश क्षमता ५०.७८ प्रतिशत रहेको देखिन्छ।हाल १३ करोड ४० लाख ५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा ७ करोड २८ लाख ७० हजार रुपैयाँ सञ्चित रहेको छ। नाफामा भएको वृद्धिसँगै प्रतिसेयर आम्दानी (EPS) २२.११ रुपैयाँबाट बढेर ५६.८२ रुपैयाँ पुगेको छ। त्यसैगरी, प्रतिसेयर नेटवर्थ २०५.१३ रुपैयाँ र मूल्य–आम्दानी अनुपात (P/E Ratio) ३२.१५ गुणा रहेको छ।सम्पत्ति गुणस्तरमा पनि उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्षमा ५.७६ प्रतिशत रहेको खराब कर्जा (NPL) घटेर २.१६ प्रतिशतमा झरेको छ, जसले संस्थाको कर्जा व्यवस्थापन थप सुदृढ बन्दै गएको संकेत गर्दछ।गत असार मसान्तसम्म संस्थाको निक्षेप तथा ऋण सापटी २९.५० प्रतिशतले वृद्धि भई ५९ करोड ७७ लाख ५६ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा लगानी १५.७० प्रतिशतले बढेर २ अर्ब २० करोड ६८ लाख रुपैयाँ पुगेको छ।

संस्थाले नाफा, सञ्चालन दक्षता, सम्पत्ति गुणस्तर तथा लाभांश क्षमतामा आएको सुधारलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया