आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा विजेताहरूको घोषणा गरिएको हो।

विभागका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्। विजेता कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको छ। ती उपभोक्ताले साउन ७ गते उक्त स्टोरबाट सामान खरिद गरेका थिए। विभागका महानिर्देशक भीष्मराज भूसालका अनुसार उपहार रकममा लाग्ने कर कटाएर बाँकी रकम उपभोक्तालाई प्रदान गरिनेछ। त्यस्तै, अन्य १५ जना उपभोक्ताले जनही १ लाख रुपैयाँ नगद उपहार जितेका छन्। उनीहरूको गोपनीयता कायम गर्न परिचय सार्वजनिक नगरिएको विभागले जनाएको छ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले यो उपहार योजना घोषणा गरेका थिए।कार्यविधिअनुसार प्रत्येक महिनाको १६ गते (१–१५ गतेसम्मको कारोबार) र महिनाको अन्तिम दिन (१६ गतेदेखि महिनाको अन्तिम दिनसम्मको कारोबार) को आधारमा उपहार घोषणा गरिनेछ।बैंक वा डिजिटल वालेटको क्यूआरमार्फत वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता स्वतः यस योजनामा सहभागी हुनेछन्। तर, उपहार दाबी गर्न खरिदको बिल अनिवार्य रूपमा सुरक्षित राख्नुपर्नेछ।

नगदमा खरिद गर्ने उपभोक्ताले भने खरिदपछि प्यान वा भ्याट बिल अनिवार्य रूपमा लिएर आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गरी कुपन प्राप्त गरेपछि मात्र उपहार योजनामा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया