सरकारले पेट्रोलमा इथानोल मिश्रण गर्ने नीति ल्याएको लामो समय बितिसक्दा पनि कार्यान्वयन प्रक्रिया अघि बढ्न नसकेको भन्दै उद्योगीहरूले सरकारको स्पष्ट पहल र सहजीकरणको माग गरेका छन्।
कियान केमिकल्स इन्डस्ट्रिजका अध्यक्ष बेद प्रसाद खरेलका अनुसार इथानोल मिश्रणसम्बन्धी नीति राजपत्रमा प्रकाशित भइसके पनि मूल्य निर्धारण, खरिद सुनिश्चितता र लगानीमैत्री वातावरण नबन्दा उद्योग स्थापना प्रक्रिया रोकिएको छ। उनका अनुसार नेपाल आयल निगममार्फत खरिद सम्झौता र सरकारले लगानीकर्तालाई औपचारिक आह्वान गर्ने कामसमेत अझै हुन सकेको छैन। खरेलले पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण कार्यान्वयन भए वार्षिक १६–१७ अर्ब रुपैयाँ बराबरको पेट्रोल आयात प्रतिस्थापन गर्न सकिने दाबी गरे। उक्त लक्ष्य हासिल गर्न तीनदेखि पाँचवटा ठूला इथानोल उद्योग आवश्यक पर्ने र यसबाट १०–१५ अर्ब रुपैयाँ लगानी तथा २०–२५ हजार प्रत्यक्ष रोजगारी सिर्जना हुन सक्ने उनको भनाइ छ।उनले इथानोल मिश्रित पेट्रोलले सवारीसाधनमा कुनै नकारात्मक असर नपर्ने उल्लेख गर्दै अमेरिका, ब्राजिललगायत देशमा वर्षौंदेखि यसको सफल प्रयोग भइरहेको बताए। साथै, इथानोल मिश्रणले कार्बन उत्सर्जन घटाई वातावरण संरक्षणमा समेत योगदान पुर्याउने उनको दाबी छ।
उद्योगीहरूले नीति घोषणा मात्र नभई मूल्य निर्धारण, खरिद सुनिश्चितता र लगानी सहजीकरणलाई तत्काल अघि बढाए इथानोल उद्योगले ऊर्जा सुरक्षा, उद्योग विस्तार, रोजगारी सिर्जना र विदेशी मुद्रा बचतमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।

Online Arthik










