नेपाल आयल निगमले होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस लगायतका व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ।
निगमले बिहीबार सूचना जारी गर्दै व्यावसायिक प्रतिष्ठानमा अनावश्यक रूपमा ग्यास सिलिन्डर भण्डारण नगर्न आग्रह गरेको हो। निगमका अनुसार बजारमा अहिले १४.२ किलोग्रामको भरिएको ग्यास सिलिन्डरको आपूर्ति तथा बिक्री वितरण भइरहेको छ। गत असार ३१ गतेदेखि नै बजारमा १४.२ किलोग्रामका भरिएका सिलिन्डर बिक्री वितरण हुँदै आएको निगमले जनाएको छ। साविकको तुलनामा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्री वितरण भइरहे पनि सर्वसाधारण उपभोक्ताले बजारमा सहज रूपमा ग्यास पाउन नसकेको गुनासो आएपछि निगमले अनुगमन थालेको जनाएको छ।निगमको द्रुत प्रतिकार्य डेस्कमा प्राप्त उजुरी तथा सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा केही होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस लगायतका व्यावसायिक प्रतिष्ठानमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखिएको पाइएको निगमले जनाएको छ।
निगमले त्यस्ता प्रतिष्ठानलाई अनावश्यक रूपमा ग्यास सिलिन्डर भण्डारण नगर्न तथा पहिले नै मौज्दात राखिएका सिलिन्डर भए तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री वितरण गर्न गराउन आग्रह गरेको छ।

Online Arthik










