काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ। पाँच दिनमै आयोजकले लक्ष्य राखेको १ लाख ५० हजारभन्दा बढी अवलोकनकर्ता पुगेपछि अन्तिम दिन पनि एक्स्पोमा उल्लेख्य भीड हुने अपेक्षा गरिएको छ।

साउन २६ गतेदेखि सुरु भएको एक्स्पोमा शनिबार मात्रै ४२ हजारभन्दा बढीले अवलोकन गरेका थिए। यससँगै पाँच दिनमा एक्स्पो अवलोकन गर्नेको संख्या डेढ लाख नाघेको हो। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ६ दिनमा डेढ लाखभन्दा बढी अवलोकनकर्ता आउने लक्ष्य राखेको थियो। एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन् भने हालसम्म ५३ नयाँ मोडल सार्वजनिक भइसकेका छन्। विशेषगरी विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनमा अवलोकनकर्ताको आकर्षण बढी देखिएको छ। सवारीसाधन खरिदमा रुचि राख्नेहरूले ब्याट्री क्षमता, रेन्ज, मोटर, चार्जिङ समय, आफ्टर–सेल्स सर्भिस, ब्याट्री वारेन्टी तथा रिसेल भ्यालुका विषयमा जानकारी लिइरहेका छन्।एक्स्पोलाई लक्षित गर्दै विभिन्न कम्पनीले मूल्यमा छुट, निःशुल्क बीमा, सवारी कर, फ्रि सर्भिसिङ तथा सहुलियत ब्याजदरमा कर्जालगायतका अफर सार्वजनिक गरेका छन्। यसले एक्स्पोलाई नयाँ सवारीसाधनबारे जानकारी लिने मात्र नभई खरिद तथा बुकिङ गर्ने अवसरका रूपमा समेत स्थापित गरेको छ।शनिबारको अत्यधिक भीडका कारण पार्किङ व्यवस्थापनमा समेत चुनौती देखिएको थियो। भृकुटीमण्डप परिसर, नेपाल प्रहरी क्लब तथा आसपासका विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिए पनि सवारीसाधनको चाप व्यवस्थापन गर्न कठिन भएको आयोजकले जनाएको छ।एक्स्पोको अन्तिम दिन ‘नाइमा मोबिलिटी संवाद’ अन्तर्गत विभिन्न विषयमा छलफल तथा अन्तक्र्रिया हुने आयोजकले जनाएको छ। एक्स्पो अवधिमा प्रविधि, विद्युतीय सवारी, वित्त, बीमा, ब्याट्री तथा दिगो यातायात प्रणालीसँग सम्बन्धित विषयमा विज्ञहरूसँग छलफल गरिएको थियो।आयोजकका अनुसार नाइमा मोबिलिटी एक्स्पोको मुख्य उद्देश्य नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको प्रवद्र्धन गर्नु हो। पछिल्ला दिनमा देखिएको उल्लेख्य सहभागिताले नेपालमा विद्युतीय तथा आधुनिक मोबिलिटीप्रति उपभोक्ताको चासो बढ्दै गएको संकेत गरेको आयोजकको भनाइ छ।

आइतबार अन्तिम दिन भएकाले नयाँ मोडल हेर्न, विभिन्न ब्रान्डको तुलना गर्न तथा एक्स्पोमा उपलब्ध विशेष अफरको लाभ लिन चाहने अवलोकनकर्ताका लागि आज अन्तिम अवसर हुनेछ।

तपाईको प्रतिक्रिया